४ पालिकाले गरे जग्गा वर्गीकरण

Facebook
Twitter
LinkedIn
Email

पाल्पा — सरकारी मापदण्डअनुसार १० प्रकारले भूउपयोग क्षेत्र वर्गीकरण नगरे पनि पाल्पाका ४ स्थानीय तहले कृषि र गैरकृषि क्षेत्र छुट्याएका छन् । ६ स्थानीय तहले भने सरकारले तोकेको समयसीमाभित्र कृषि र गैरकृषि क्षेत्रसमेत छुट्याएका छैनन् । रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा र निस्दी गाउँपालिकाले कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गरेका हुन् ।

तानसेनले नगरभित्रका जग्गाको कृषि, आवास, खानी, सीमसार, वन र व्यावसायिक क्षेत्र गरी ६ भागमा वर्गीकरण गरेको छ । नगर प्रवक्ता यादवसिंह कार्कीले सडक, वन र खानी क्षेत्रलाई विशेष आधार मानेर जग्गाको वर्गीकरण गरिएको बताए । स्थानीय भूउपयोग परिषद्को बैठकले नगरभित्रका जग्गाको वर्गीकरण गरेको उनले जानकारी दिए ।

नगरपालिकाले वडा २, ३, ४ र ७ लाई आवासीय क्षेत्रमा राखेको छ । १४ मध्ये अन्य वडालाई भने कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरेको छ । सहरी सडक, सहायक सडक, भित्री सडकमा ३०, ५०, ७५, १०० र २०० मिटरसम्मका जग्गालाई खेतीयोग्य जनाइएको प्रवक्ता कार्कीले बताए । ‘जग्गाको वर्गीकरण गरेर स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाएका छौं,’ उनले भने ।

रामपुर नगरपालिकाले आवास, कृषि, व्यावसायिक, औद्योगिक क्षेत्र समेटेर जग्गाको वर्गीकरण गरेको जनाएको छ । नगरपालिकाले ६ मिटर चौडाइ भएको सडकको दायाँ–बायाँ ५० मिटर, ८ मिटर सडकको दायाँ–बायाँ ७० मिटर, १० मिटर सडकको दायाँ–बायाँ ८० मिटर र १० मिटरभन्दा माथिका सडकको दायाँ–बायाँ १०० मिटरसम्मको क्षेत्रलाई आवासीय भनेर तोकेको छ ।

अंशबण्डा गर्दा आवास थप्नुपर्ने भए आपसी समझदारीमा मापदण्डअनुसार बाटो विस्तार गरी आवास बनाउन सकिने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गत समथर भू–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दायाँ–बायाँ क्षेत्रलाई आवासीय क्षेत्र तोकिएको छ । यसैगरी, कालीगण्डकी करिडोरबाट १ सय मिटर दायाँ–बायाँको क्षेत्रलाई व्यावसायिक क्षेत्र भनिएको छ । रामपुर–७ किसानबारीदेखि तुरुन्दी खोलासम्मको बाटोमा पर्ने वीरेनटारको उत्तरतर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरिएको छ ।

निस्दीले पनि कृषि र गैरकृषि क्षेत्र छुट्याएको छ । ‘तर मापदण्डअनुसार भएको देखिएन,’ मालपोत प्रमुख होमबहादुर थापा मगरले भने, ‘मंसिर २३ भित्र कृषि र गैरकृषि मात्र भए पनि छुट्याए हुने भन्ने निर्णय पालिकाले कार्यान्वयन मात्र गरेका छन् ।’

Latest News

Leave a Reply

Your email address will not be published. Required fields are marked *